मुद्राकोषको टोली फागुन दोस्रो साता आउने

२१ माघ, काठमाण्डौ । नेपालमा गहिरिँदै गएको आर्थिक संकट कम गर्नेबारे सुझाव दिन अन्तराष्ट्रिय मुद्राकोष (आइएमएफ)को टोली फागुनको दोस्रो साता नेपाल आउने भएको छ ।

अर्थमन्त्रालयका सल्लाहाकार केशव आचार्यका अनुसार नेपाल सरकारको निम्तोमा कोषका बिज्ञ सम्मिलित टोली नेपाल आउन लागेको हो । बजारमा तरलता अभाव, भुक्तानी असन्तुलन तथा निर्यातमा देखिएको निरन्तरको गिरावटले नेपालको अर्थतन्त्र संकटमा परेपछि नेपाल सरकारले हालै मुद्राकोषलाई पत्र लेखि सहयोगका लागि अपिल गरेको थियो । अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्र लेखेर गरेको अनुरोधका आधारमा आउन लागेको टोलीले नेपालमा देखिएको संकटको अध्ययन गरि ठोस सुझाव पेश गर्ने अपेक्षा गरिएको आचार्यले जानकारी दिनुभयो ।

सरकारका तमाम प्रयासका बाबजुद अर्थतन्त्रमा कुनै सुधार नदेखिएपछि सरकारले मुद्रा कोष गुहारेको हो । कोषले हरेक बर्ष बिज्ञहरुको समुह पठाउने गरेको जानकारी दिँदै सल्लाहाकार आचार्यले यसलाई बिशेष घटनाका रुपमा हेर्न नहुने बताउनुभयो । ‘उनीहरुले बेला बेलामा यस्तो सुझाव दिइरहन्छन- उहाँले भन्नुभयो-’नेपालको अहिलेको अबस्थामा कस्तो रणनीति लिनुपर्छ भन्ने बिषयमा उनीहरु अनुभवी छन् ।’

द्धन्द्धका समयमा समेत नखस्किएका आर्थिक सूचकांकहरु पछिल्ला केही महिनामा ओरालो लागेपछि सरकारले अर्थतन्त्र सुधार हुने बिश्वास गुमाउँदै गएको छ । रेमिट्यान्सको बृद्धिदर गएका ६ महिनामा १५ प्रतिशतमात्र छ भने भुक्तानी असन्तुलन बीस अर्बभन्दा बढी पुगेको छ । रेमिट्यान्स बृद्धिका लागि सरकारले जोड गरेको भएपनि पछिल्ला दिनमा अन्तराष्ट्रियरुपमै बढ्दै गएको महंगीका कारण रेमिट्यान्स आगमन घटेको छ ।

तर मुद्रा कोष गुहार्ने सरकारी रवैयाले बजारमा झनै सन्त्रास ल्याउने र संकट बढ्नसक्ने अर्थबिद्हरु बताउँछन् ।

0 comments:

Post a Comment

copyright Oxkoon Inc.