माओवादी विखण्डनवादीः कोइराला
सुर्खेत (खजुरा) । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले पछिल्लो समयमा एकीकृत नेकपा -माओवादी)ले राष्ट्रियताको नारा उठाएर मुलुकलाई विखण्डन गर्न खोजेको आरोप लगाउनुभएको छ ।
नेपाली काङ्ग्रेस सुर्खेतद्वारा मंगलबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले नियोजितरुपमा सत्ता हत्याउने दाउमा लागेको माओवादीले बेमौसमी आन्दोलनका रुपमा राष्ट्रियताको नारा उठाएर मुलुकलाई थप अन्यौलतातर्फ धकेलेको दोषारोपण गर्नुभयो ।
उहाँले सरकार सञ्चालनमा सक्षमता हासिल गर्न नसकेर सरकार छोडेको माओवादीले पछिल्लो समयमा नागरिक सर्वोच्चताको नारा उठाएर संविधानसभालाई असफल बनाउन लागेको विचार व्यक्त गर्नुभयो ।
कार्यवाहक सभापति कोइरालाले माओवादीले अहिले पनि आफ्नो हत्या, हिंसा र अपहरणको शैलीलाई निरन्तरता दिएको छ भन्दै त्यसखाले गतिविधिलाई नियन्त्रण गर्न कार्यकर्तालाई तयार रहन निर्देशनसमेत दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री खड्कबहादुर बस्याल, पूर्वसांसद हृदयराम थानी, शिवराज उपाध्यायलगायतले माओवादीले आफ्ना अराजक क्रियाकलाप नरोकेमा काङ्ग्रेसले जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको बताउनुभयो ।

0 comments:

Post a Comment

copyright Oxkoon Inc.