कोइराला अन्तिम अबस्थामा, मण्डिखाटारमा नेता कार्यकर्ताको घुइचो

Koirala-1७ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य अबस्था थप गम्भीर भएको छ । कोइराला गएरातिदेखि नै अचेत हुनुहुन्छ । उहाँलाई दिँदै आएको कृत्रिम अक्सिजनको मात्रामा बृद्धि गरिएको छ ।

कोइरालालाई भेट्न सुजाता निबास मण्डिखाटार पुगेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष डा. बाबुराम भट्टराईले बोलाउँदा कोइराला बोल्न नसकेको उपचारमा संलग्न चिकित्सक डा.मनबहादुर केसीले जानकारी दिनुभयो ।

पार्टी कामको शिलशिलामा सिन्धुली पुगेका काङ्ग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा सबै कार्यक्रम स्थगित गरेर राजधानी फर्कनु भएको छ ।

काङ्ग्रेस सभापति कोइरालाको स्वास्थ्य अबस्थाबारे जानकारी लिन विभिन्न राजनीतिक दलका नेता, शुभेच्छुकहरु मण्डिखाटारस्थित सुजाता निबास पुगेका छन् । समाचार संकलनका लागि पत्रकारहरु पनि उल्लेख्य संख्यामा त्यहाँ पुगेका छन् । सर्बसाधारण र पत्रकारहरुलाई सुजाता निबासको मुख्य गेट भित्र प्रवेश गर्न दिइएको छैन ।

कोइरालाको उपचारमा संलग्न तीनै जना चिकित्सकहरु डा. मनबहादुर केसी, डा.जगदीश अग्रवाल र डा. अर्जुन कार्कीको टोलीले गेट बाहिर जम्मा भएका पत्रकारहरुलाई कोइरालाको स्वास्थ्य अबस्था चिन्ताजनक रहेको जानकारी दिएका छन् ।

नायिका मनिसा कोइराला पनि कोइरालाको स्वास्थ्य अबस्थाबारे जानकारी लिएर फर्कनु भएको छ ।

कोइरालाको स्वास्थ्य गम्भीर भएपछि गएरातिदेखि नै चिकित्सकहरुले अस्पतालमा जस्तै विशेष व्यवस्था मिलाएर सुजाता निबासमै उपचार गरिरहेका छन् ।

0 comments:

Post a Comment

copyright Oxkoon Inc.